
‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ ।
कृषि विभागले यही माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो ।
वि. सं २०७९ भदौ २७ गते मन्त्रिपरिषद्बाट प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णयबमोजिम यो वर्ष पनि कृषि विभागले विविध कार्यक्रम गरी दिवस मनाउन लागेको हो ।
माघको पहिलो साताभर मनाइने उक्त दिवसले नेपालमा परम्परागत रूपमा रहेका अनेकौँ जातजाति, धार्मिक एवं सांस्कृतिक परम्परासँग सम्बन्धित कृषि र खानाका परिकार तथा सम्बद्ध सीपको जगेर्ना गर्न मद्दत पुर्याउनुका साथै स्थानीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवं दिगो उपयोग, वातावरण संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए ।
कृषि जैविक विविधताको महत्व सहित यसको संरक्षणबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरिनुका साथै प्रादेशिक निकाय, स्थानीय तहलगायत सरकारी तथा गैरसरकारी संस्थालाई कार्यक्रम सञ्चालन गरी दिवस मनाउन पत्राचार गरिएको छ ।