नुवाकोट, माघ २ :

माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ । 

माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ ।

जिल्लाको ताकेश्वर गाउँपालिका- ३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । 

‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रम मार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन केन्द्रित गरिँदै आएको संयोजक श्रेष्ठको भनाइ छ । 

तारुकाको गोरु जुधाइको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न ।

यस्तै, माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन् । गोरु जुधाउन किसानले पालेका मध्येबाट उत्कृष्ट ११ हल गोरु दर्ता गरेर जुधाइ प्रदर्शनी गर्न लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । 

जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोटपटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्तिसहितको व्यवस्था गरिएको छ ।
वेत्रावतीमा आयोजित गोरु जुधाइ प्रदर्शनी नेपाल र भोटबीच भएको युद्ध अन्तर्गत १८४९ सालमा वेत्रावतीमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जित भएको उत्सवसँग जोडेर लिने गरिएको छ । यद्यपि उक्त तथ्यको पनि यकिन इतिहास कतै उल्लेख छैन ।

माघे सङ्क्रान्ति मनाउने क्रममा आजै नुवाकोटको बेलकोटगढी नगरपालिका- ५ दुईपिपल, लिखु गाउँपालिका- ३ सूर्यमतिको कट्टीछाप, पञ्चकन्या गाउँपालिका- ३ पिपलडाँडा, शिवपुरी गाउँपालिका- ५ शेराबगर लगायत स्थानमा पनि गोरु जुधाइ प्रदर्शनी गरेर किसानले सङ्क्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।