काठमाडौं, माघ २ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिस्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गरेका छन् ।

पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु आएको दाबी गरे । उनले कम्युनिस्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाए पनि जनतालाई सन्तुष्टि दिनेगरी काम गर्न नसकेको उल्लेख गरे ।

मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिस्ट नेता भएर मात्रै पनि कम्युनिस्ट आन्दोलन माथि नउठ्ने उनको भनाइ छ । उनले नेपालमा पनि कम्युनिस्ट पार्टीका नेताले राज्य सञ्चालन गरे पनि राम्रो काम गर्न नसकेको आरोप लगाए । ‘नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिस्ट पार्टीहरु पनि छन् । निमुखाको आवाज बोक्ने पनि छन् । अहिलेको राजनीतिमा धेरै विकृति विसंगतिहरु आएका छन्,’ अध्यक्ष नेपालले भने,‘मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिस्ट पार्टीका मान्छे छन् ।  तर जनता सन्तुष्ट हुन सकेका छैनन् ।

विश्वका उदाहरण हेर्दा पनि कम्युनिस्ट पार्टीका नेताहरुले नै कम्युनिस्ट पार्टीलाई सिध्याएको इतिहास रहेको अध्यक्ष नेपालको भनाइ छ । उनले कम्युनिस्टका नाममा गैरकम्युनिस्ट काम कसैले गर्न नहुने धारणा राखे । उनले कम्युनिस्ट भएपछि कम्युनिस्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गरे ।

उनले कम्युनिस्ट नेताले एकपटक मात्रै कीर्तिमान कायम गरेर नहुने धारणा राखे । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीको नेताले जनताको सेवा, मानवकल्याण र समाज परिवर्तनका लागि अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘कम्युनिस्ट भएर मात्रै पनि हुँदैन । कम्युनिस्ट पार्टीका नेताहरुले नै कम्युनिस्ट पार्टीलाई सिध्याइदिएका छन् । कम्युनिस्टको नाममा गैर कम्युनिस्ट काम गर्नु हुँदैन,’ उनले भने, ‘कम्युनिस्टको नाम र मर्यादा राख्नुपर्छ । त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्नुपर्छ । एकपटक कीर्तिमान कायम गरेर हुँदैन । विगतमा खेलेका भूमिकाको प्रशंसा गर्नुपर्छ ।’

उनले जनताको सेवा, मानवकल्याण र समाज परिवर्तनका लागि काम गर्ने भावना सम्प्रेषण गरी युवाहरुलाई असल बाटोमा लैजान सके मात्रै  पिस्करका सहिदहरुको सपना पूरा हुने उल्लेख गरे । उनले भने, ‘जीवन जनताको सेवा, मानवकल्याण र समाज परिवर्तनका लागि लगाउनुपर्छ भन्ने भावना सम्प्रेषण गरी युवाहरुलाई असल बाटोमा लैजान सक्यौं भने मात्रै पिस्करका सहिदहरुको सपना पूरा हुन्छ ।’