काठमाडौँ, माघ २ :

माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघेसङ्क्रान्ति पर्व मनाइएको छ । 

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघ) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले आजबाट दिन भन्दा क्रमशः रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मान्ने गरिएको छ । 

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो । 
 
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । 

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा देवमणि भट्टराईले बताए । 

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।