काठमाडौँ, माघ ३ :

प्रहरीले वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका- ५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका- २ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

शेर्पाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट १५ लाख लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।