काठमाडौँ, माघ ३ :

आज विभिन्न चार वटा संसदीय समितिका बैठक बस्दै छन् ।

बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र सङ्घीय संसद्ले बनाएका ऐन कानुन कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।

बिहान ११ : ३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुनेछ । 

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।