
पश्चिम तराईमा चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।
बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ ।
“चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारी साधन कम चलेका छन् । नेपालगञ्जमा बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ । बिहानैदेखि हुस्सुले अत्यधिक चिसो भएको छ”, नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, “चिसोले गर्दा घर भन्दा बाहिर निस्कन सकिएको छैन, यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।”
चिसोले ज्यालादारी काम गर्नेहरु बढी मारमा परेको बाँके डुडुवा गाउँपलिका- ४ का मजदुर रामदिन गोडियाले बताए । काम नगर्दा परिवार चलाउन मुस्किल हुने भन्दै केही दिन यस्तै चिसो रहेमा समस्या हुने उनको गुनासो छ ।
दैनिक ज्यालादारी काम गर्न पहाड़ तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण झर्ने गर्छन् । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडियाले बताए । अहिले स्थानीयहरु आगो बालेर तापेर बसको उनले सुनाए ।
चिसोबाट विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण बिरामीसमेत बढेका छन् ।
चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी बढेको अस्पतालका सूचना अधिकारी डा संकेत रिसालले बताए ।