विपक्षी दलको बैठक : संसद् छलेर अध्यादेश ल्याएकोमा विरोध, हिउँदे अधिवेशन बोलाउन दबाब दिने
बिहीबार संयुक्त वक्तव्य सार्वजनिक गर्ने
सक्रिय न्यूज संवाददाता
बुधबार, ३ माघ, २०८१ मा
प्रकाशित
काठमाडौं, माघ ३ :
संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन विपक्षी दलहरूले सरकारलाई दबाब दिने भएका छन्।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज(बुधबार) बसेको विपक्षी दलको बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकाल्दै दबाब दिने टुंगाेमा पुगेका हुन् ।
संसद् छलेर अध्यादेशहरू ल्याएकोमा विरोध गरेका विपक्षी दलहरुले बिहीबार संयुक्त वक्तव्य सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।
सरकारले नियमित बैठक नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको तयारी भएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राप्रपा, आमजनता पार्टीलगायत संसद्मा रहेका ६ वटा विपक्षी दल दलका शीर्ष नेताहरू सहभागी थिए ।