काठमाडौं, माघ ३ :

सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि (बिहीबार) मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् ।

सरकारमा सहभागी भएको झन्डै ६ महिना बित्न लाग्दा पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले काम देखाउन नसकिरहेको भन्ने आवाज कांग्रेसभित्र उठिरहेको छ ।

देउवाले आफ्नैनिवास बूढानीलकण्ठमा छलफलका लागि पार्टीका मन्त्रीहरुलाई बोलाएका हुन् ।  उनले मन्त्रीहरूसँग के-के काम गरिरहनुभएको छ भन्नेबारेमा प्रगति विवरण माग गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी ओलीले एकलौटी ढंगले निर्णय गर्दा पनि पार्टीका मन्त्रीहरु बेखबर हुने गरेको आरोप छ । मन्त्रीहरुले जनताको पक्षमा जसरी काम गर्नुपर्ने थियो त्यो नभएको कांग्रेसका कतिपय नेताहरुको गुनासो रहेको छ । केही मन्त्री बारम्बार विवादमा आइरहेका छन् । 

तसर्थ, केही नेताहरु अहिले खुलेरै आफ्नै पार्टी संलग्न रहेको सरकारको सार्वजनिकस्थलमै विरोध गर्न थालेका छन् । ओली नेतृवको सरकारमा कांग्रेसबाट  १० मन्त्री र २ राज्यमन्त्री  छन् ।

गृहमन्त्री रमेश लेखकले भने संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अन्तर्क्रियाका लागि सभापति देउवाले  बैठक बोलाइएको बताएका छन् ।