काठमाडौं, माघ ३ :

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतले आदेश दिएको छ ।

बुधबार सकिएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। बहसमा लामिछाने पक्षका वकिलहरूले बोलाएको बेला हाजिर हुने गरी लामिछानेलाई छाड्न माग गरेका थिए भने रविविरुद्ध बहस गरेका वकिलहरूले  प्रमाण नष्ट हुनसक्ने भन्दै उनलाई थुनामै राख्नुपर्ने तर्क गरेका थिए ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने लगायत ४४ जनाविरुद्ध ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ता भएकाले काठमाडौंको मुद्धा पछि उनलाई त्यता पनि लैजाने  तयारी भइरहेको छ ।