आगरा (भारत), माघ ४ :

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । 

नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा सहभागी व्यवसायीहरुले एकापसमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने प्रतिबद्धता जनाएका हुन् । 

सीमा क्षेत्रको पर्यटनका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा साझेदारी फराकिलो बनाउँदै दुवै देशको परस्पर हित र लाभका लागि सहकार्य गर्ने दुवै मुलुकका पर्यटनसम्बद्ध निकाय तथा व्यवसायीको भनाइ छ ।

यसैको तयारीस्वरूप नेपाली व्यवसायीहरूलाई भारतका विभिन्न धार्मिकस्थलहरूको छ दिने अवलोकन भ्रमण गराइएको छ । यस क्रममा विश्वप्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलरू मथुरा, आगरा, प्रयागराज, लखनउ, बनारस र अयोध्या क्षेत्रको परिचयात्मक भ्रमण तथा पर्यटन व्यवसायीबीच अन्तरक्रिया गरिएको छ ।

भ्रमणका क्रममा आगरामा आयोजित कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीहरूले दुवै देशको पर्यटन सम्भावना, चुनौती र अवसरबारे खुलेर छलफल गरे । ताजमहललाई पृष्ठभूमिमा राखेर गरिएको ‘बिटुबी’ कार्यक्रममा दुवै पक्षले आआफ्ना देशका पर्यटकीय क्षेत्रबारे जानकारी समेटिएका पुस्तिका लगायत सम्पर्क नम्बर तथा ठेगाना आदानप्रदान गरेका छन् ।

उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले यस प्रकारको कार्यक्रमले दुवै देशको पर्यटन विकासका लागि सहकार्य गर्न महत्वपूर्ण टेवा पुग्ने बताए ।  

आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले नेपाल र भारतबीच रहेको धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्न छलफल सफल भएको उल्लेख गरे । नेपालका चर्चामा रहेका धेरै पर्यटकीयस्थलबारे जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले भारतीय पर्यटकलाई ती धार्मिक एवं पर्यटकीयस्थलमा भ्रमण गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता जनाए ।

नेपाली व्यवसायी तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालका धार्मिक पर्यटकीयस्थलबारे जानकारी गराए । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठले दुई देशबीचको पर्यटकीय सम्भावनाको उजागर, व्यवसायीबीच सहकार्य अभिवृद्धिका साथै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।