दाङ, माघ ४ :

चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै पाक्न थालेपछी स्थानीय आश्चर्यचकित भएका छन् ।

हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका- १९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । 

“गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन् । यो के अचम्म भएको हो ?“, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने। 

केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ । यस वर्ष पुसमै काफल चाख्न पाएको पुनले जानकारी दिए । यस वर्ष पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको छ । 

जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा  प्रमुख धनराज गौतमले बताए । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ ।

“यस वर्ष १० डिग्रीभन्दा कम तापक्रम नै भएन”, उहाँले भने, “यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।”

बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गरेको गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ- आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनको भनाइ छ ।