
पाँच महिनामा देशका विभिन्न जिल्लामा भएका आगलागीका घटनामा परि १६ जनाको मृत्यु भएको छ ।
यो अवधिमा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए ।
उनका अनुसार आगलागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायाको क्षति भएको छ ।
आगलागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाइएको छ। आगलागीबाट करिब ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए ।
सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन् ।
दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै मङ्गलबार मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट दुई जना घाइते भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।
दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानी लगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।