काठमाडौँ, माघ ४ :

नेपाल आयल निगमले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ ।

डिपो सार्नका लागि गोदावरीमा २० बिघा १६ कठ्ठा आठ धुर जग्गा पहिचान गरिएको निगमले जनाएको छ । 

निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना संयोजक प्रदीपकुमार यादवले डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जानकारी दिए ।

उनले हाल धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित डिपो घना बस्तीबीचमा रहनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न जग्गा साँघुरो भएकाले सुरक्षित स्थानमा सार्नु परेको बताए ।

वि. सं २०३७ मा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थानान्तरण गर्नुपरेको उनले उल्लेख गरे।

आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न हुने र आगामी वैशाख पहिलो साता डिपो शिलान्यास गरिने निगमको योजना छ । वि. सं २०८४ वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ । 

जग्गा अधिग्रहण र डिपो निर्माणका लागि रु तीन अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको छ । काठमाडौँ विश्वविद्यालयले डिपोको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण गर्ने आयल निगमले जनाएको छ ।