काठमाडौँ, माघ ४ :

सङ्घीय संसद् अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । 

आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बिहान ११ : ३० बजे बस्ने छ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

बिहान ११ : ३० बजे नै बस्ने  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो एक बजे बस्ने छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।