
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् ।
निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले आज (बिहीबार) बिहान छलफलमा डाकेर मन्त्रीहरुसँग कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।
मन्त्रीहरुले पालैपालो आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिए । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले विनियोजन गरेको रकमले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न नसकिने हुँदा सधै आलाेचना खेप्नुपर्ने स्थिति आउने गरेको बैठकमा बताए ।
बजेटको अभाव लगायत विभिन्न परिस्थितिका कारण सोचे अनुसारको काम गर्न नसकिएको प्राय जसो मन्त्रीहरुको गुनासाे थियाे । अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिएका छन् । पार्टीलाई बदनाम हुनबाट जोगाउन मन्त्री फेर्नुपर्ने अवस्था आए त्यस तर्फ पनि सोच्चनुपर्ने आवाज छलफलमा उठेको एक नेताले बताए ।
सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेका कांग्रेस सभापति देउवाले मन्त्रीहरूलाई बोलाएर छलफल गरेका हुन् ।
सरकारमा सहभागी भएको झन्डै ६ महिना बित्न लाग्दा पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले काम देखाउन नसकिरहेको भन्ने आवाज कांग्रेस भित्रै उठिरहेको छ ।
प्रधानमन्त्री केपी ओलीले एकलौटी ढंगले निर्णय गर्दा पनि पार्टीका मन्त्रीहरु बेखबर हुने गरेको आरोप छ । मन्त्रीहरुले जनताको पक्षमा जसरी काम गर्नुपर्ने थियो त्यो नभएको कांग्रेसका कतिपय नेताहरुको गुनासो रहेको छ ।केही मन्त्री बारम्बार विवादमा आइरहेका छन् ।
तसर्थ, केही नेताहरु अहिले खुलेरै आफ्नै पार्टी संलग्न रहेको सरकारको सार्वजनिक स्थलमै विरोध गर्न थालेका छन् । ओली नेतृवको सरकारमा कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री छन् ।