काठमाडौं, माघ ४ :

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रोमोसन गर्न देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित इप्पान इभी र्‍यालीमा सहभागी हुँदै घिसिङले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढेको पनि बताए । निजी सवारीसाधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक सवारीसाधनसमेत विद्युतीयमा परिणत भइरहेको उनको भनाइ छ ।

उनले यात्रुवाहक सवारीसाधनसमेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठुलो परिवर्तन भएको बताए । उनले मुलुकभित्रै विद्युत्‌को माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्‍यालीले अभियानलाई ठूलो सहयोग पुगेको दाबी गरे ।

कार्यकारी निर्देशक घिसिङले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारीसाधनको खरिद-बिक्री भएको भन्दै उनले सन्तुष्टि जनाए । उनले विद्युतीय सवारीसाधनको प्रोमोसन विद्युतीय सवारीसाधन किनेर मात्रै नहुने बरु देशभर विद्युतीय सवारीसाधनका लागि आवश्यक संरचना बनाउन जरुरी रहेको उल्लेख गरे ।

घिसिङले विद्युतीय चार्जिङ स्टेसनहरु मुलुकभर बनाउन जरुरी रहेको बताए । उनले सरकारले निजी क्षेत्रले ठुलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सय बढी चार्जिङ स्टेसनहरु निजी क्षेत्रले मात्रै बनाएको उल्लेख गरे ।

‘इलेक्ट्रिकल भेहिकलमा ट्रान्सपोर्टेसन भएको छ । यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारीसाधनमा नेपालभर वृद्धि भएको छ,’ उनले भने, ‘७० प्रतिशत विद्युतीय सवारीसाधनको खरिद-बिक्री भएको छ । विद्युतीय सवारीसाधनको प्रमोसन विद्युतीय सवारीसाधन किनेर मात्रै पनि हुँदैन । देशभर विद्युतीय सवारीसाधनका लागि आवश्यक संरचनाहरु बनाउन जरुरी छ । जसमा विद्युतीय चार्जिङ स्टेसनहरु बनाउन जरुरी छ । निजी क्षेत्रले ठुलो सहुलियतसहित प्रोत्साहन गरेका छौं । अहिले ६ सय बढी चार्जिङ स्टेसनहरु निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ । अहिले निजी क्षेत्रबाट पाँच सय चार्जिङ स्टेसनहरुका लागि आवदेन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युत्‌लाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युत् उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे । उनले सबैले विद्युतीय सवारीसाधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।

उनले विद्युतीय सामग्रीहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।