काठमाडौं, माघ ४ :

नेपाली कांग्रेसले नेता दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति बनायो बनाएको छ  ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज (बिहीबार) बसेको कांग्रेस संसदीय दल केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । 

सांसद बडू नेतृत्वको समितिमा पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।  समितिले पार्टीका मन्त्रीहरुले गर्ने कामको मूल्यांकन, दलभित्र कायम हुनुपर्ने अनुशासनलगायत अन्य विषयमा चासो राखेर काम गर्नेछ ।

संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक/एक जना संयोजक तोक्ने व्यवस्थाअनुसार पहिला तोकिएका संयोजकहरु एक जना मन्त्री, एक जना समितिको सभापति, एक जना प्रमुख सचेतक भएकाले खाली थियो । संसदीय समितिमा रहेका विधेयकहरुलाई तत्काल पास गर्न र संविधान कार्यान्वयनका केही अत्यावश्यक विधेयकहरु संसदमा छिटो भन्दा छिटो ल्याउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

साथै बैठकले पेशागत व्यवसायका कारणबाट अदालतमा बहस गरेर निस्किने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण र दुर्व्यवहारको निन्दा गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।