
नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरुलाई दुई दिन पार्टीका नेता,कार्यकर्ताहरुसँग पार्टी कार्यालयमा नै भेटेर जनताका आवाज सुन्न र बाँकी ५ दिन मन्त्रालयको काममा लाग्न पनि निर्देशन दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज(बिहीबार) भएको छलफलमा यस्तो निर्देशन भएको हो । सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने निर्णय भएको पनि प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।
पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरुमार्फत पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रिय कार्यालयमा छलफल गर्ने निर्णय भएको उनले बताए ।
उनले भने,आलोपालो सिस्टमबाट सातामा दुई दिन पार्टीमा गएर मन्त्रीहरुले कार्यकताहरुसँग भेट्ने नागरिकको गुनासो सुन्ने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन सभापतिबाट निर्देशन भएको छ ।
पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रिय कार्यालयमा छलफल गर्ने गर्ने निर्णय भएको पनि उनले बताए ।प्रमुख सचेतक घिमिरेले केही आर्थिक सुधारका पक्षमा र सुशासनका पक्षमा तत्काल अध्यादेश ल्याएर सम्बोधन नगरे समय प्रक्रिया लम्बिने र सरकारले केही गर्न नसकेको भन्ने सन्देश जनतामा प्रवाह हुने भएकाले अध्यादेश ल्याइएको बताए । उनले वर्तमान गठबन्धनले संसदको पूरा अवधि धान्ने दाबी गरे ।
छलफलमा मन्त्रीहरुले आ-आफ्नो मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी गराएका थिए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बसेर काम गर्दाको सफ्ट्यारा र अप्ठयारा परिस्थितिका बारेमा समेत उनीहरुले जानकारी गराएका थिए । केही मन्त्रीहरुले भने बजेटको अभावले सोचे अनुरुपको काम देखाउन नसकेको बताएका थिए । वर्तमान सरकारमा कांग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।