बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

‘जलवायुसम्बन्धी राष्ट्रिय नीतिलाई ऐनका रुपमा लागु गर्नुपर्छ’

‘नेपालले जलवायु कार्यका लागि वित्तसँगै वित्त परिचालन क्षमता अभिवृद्धि गर्न आवश्यक’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
‘जलवायुसम्बन्धी राष्ट्रिय नीतिलाई ऐनका रुपमा लागु गर्नुपर्छ’
काठमाडौं, माघ ४ :

जलवायु परिवर्तनको उच्च जोखिममा परेको नेपालले जलवायु कार्य गर्न जलवायु ऐनमा केन्द्रित हुनुपर्ने सांसदहरुले बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बिहीबार उनीहरुले यस्तो बताएका हुन् । राष्ट्रिय सभा सदस्य अन्जान शाक्यले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायुसम्बन्धी राष्ट्रिय नीतिलाई ऐनका रुपमा लागु गर्नुपर्ने बताइन् । उनले जलवायुसम्बन्धी राष्ट्रिय नीतिलाई विधेयकका रुपमा ल्याएर ल्याउनुपर्ने भन्दै कुनै मन्त्रालले त्यसमा काम गरिरहेको भए समितिमा व्यापक छलफल गर्न जरुरी रहेको बताइन् ।

शाक्यले नेपालको ध्यान जलवायु कार्यका लागि फन्ट हासिल गर्नतर्फ जान आवश्यक रहेको बताइन् । नेपाल विकासशील मुलुक भएको कारण एलएमडीसीसँगको समन्वय घनिभूत रुपमा अघि बढाउन जरुरी रहेको धारणा राखिन् । नेपाललले जलवायु अनुकूलन परियोजना पहिचान गर्दै अनुकूलन क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको शाक्यको भनाइ छ ।

‘हामीले जलवायु कार्य र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने हो भने जलवायु ऐनमा केन्द्रित हुनुपर्छ जस्तो लाग्छ । किनभने जलवायु राष्ट्रिय नीति छ तर त्यो राष्ट्रियस्तरको भएको हुनाले त्यतिले मात्रै पुग्दैन । त्यसलाई हामीले विधेयकको रुपमा ल्याएर हुन्छ कि कुनै मन्त्रालयले काम गरिरहनु भएको छ भने पनि समितिमा त्यस्ता खालका छलफलहरु हुन आवश्यक छ,’ उनले भनिन्, ‘हामी अहिले एलडीसीमा छौं । एलएमडीसीसँग हाम्रो हाम्रो कोअर्डिनेसन अलि घनिभूत हुनुपर्छ । अब नेपालको ध्यान जलवायु कार्यका लागि फन्ट हासिल गर्ने हो भन्नेतिर जान आवश्यक छ ।’

नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले जलवायु परिवर्तनका लागि सरकारको उच्चस्तरको नीति अवलम्बन गर्न जरुरी रहेको बताइन् । उनले जलवायु कार्य गर्न मन्त्रालयले मुख्य कार्यभार लिएर काम गर्नुपर्ने धारणा राखिन् । उनले मन्त्रालयहरुमा रहेका कर्मचारीहरुमा संस्थागत विज्ञता विकास गर्न जरुरी रहेको पनि बताइन् ।

‘जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अलि उच्च तहमा पुगौं । मन्त्रलयहरुले यसलाई एउटा मुख्य जिम्मेवारीको रुपमा लिएर अगाडि बढौं । हामीले सोचाइको तहलाई माथि बढाएर जानुपर्ने आवश्यकता छ,’ उनले भनिन् ।

‘ऋण ल्याउँदा प्रतिफल दिने परियोजनाका लागि मात्र ल्याउनुपर्छ ।’

आफू अनुकूलका निर्णय गराउन सचिवहरुलाई मन्त्रालयमा ल्याउने तथा सरुवा गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उनको सुझाव थियो । उनले व्यवस्था परिवर्तन हुँदा पनि कर्मचारीहरुलाई आफू अनुकूल सरुवा गर्ने प्रवृत्ति अन्त्य नभएको उल्लेख गर्दै अब यस्तो परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

‘सचिवहरुलाई ठ्याक्कै काम मिलाएर गरिदिन्छ भनेर ल्याउने चलन छ । म आफैं मन्त्री हुँदा पनि त्यस्ता प्रेसरहरु फिल गरेको छु,’ अर्यालले भनिन्, ‘यत्तिको व्यवस्था परिवर्तन हुँदा पनि हाम्रो परिपाटी चेन्ज भएको छैन । अब चेन्ज गरौं ।’

नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले जलवायु कार्य गर्न ऋणभन्दा अनुदान ल्याउनुपर्नेमा जोड दिए । उनले विश्व समुदाय नै आर्थिक संकट झेलिरहेको उल्लेख गर्दै अहिलेको अवस्था अनुदान ल्याउन समस्या हुने धारणा राखे । उनले विगत केही वर्षदेखि नेपालमा अनुदान कम मात्र आइरहेको पनि उल्लेख गरे । ऋण ल्याउँदा प्रतिफल दिने परियोजनाका लागि मात्र ल्याउनुपर्नेमा उनको जोड छ ।

‘अहिले नेपालमा पूरै ऋण लिएर अर्काको पैसाबाट पैसा कमाइरहेका छन् । मैले बुझेको यस्तो गर्नेमा मारबाडीहरु धेरै छन् । पोखरा र भैरहवा विमानस्थलमा गयो भने कर्मचारीहरु हामीलाई घेर्ने गर्छन् । कनि पैसा खर्च गरेको भने ? हामीलाई जवाफ दिन ठाउँ पनि छैन,’ उनले भने ।

बैठकमा अधिकांश सांसदहरुले नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको उल्लेख गर्दै जलवायु कार्य गर्न नीतिगत व्यवस्थाका साथै वित्त प्राप्तिमा जोड दिनुपर्ने धारणा राखे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार