कास्की, माघ ४ :

प्रधानमन्त्री केपी ओलीले विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज (बिहीबार) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताए। । 

उनले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गरे । साथै प्रधानमन्त्री ओलीले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताए । तर, प्रविधिबाट शतर्क हुनुपर्ने अवस्था रहेको उनको भनाई थियो । ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन उनले भने, ‘अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौँ ।’

उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएको बताए ।पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपति समेत रहेका ओलीले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको चर्चा गरे।

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरुलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै  विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए । २०८०/२०८१ मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन् ।