
उदयपुरको त्रियुगा नगरपालिका- ११ स्थित बरूवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्धन निर्माण सुरु भएको छ ।
बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरूवा नदी कटान स्थानबाट स्थायी तटबन्धन निर्माण सुरु गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
उक्त स्थायी तटबन्धनको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले औपचारिक शिलान्यास गरेपछि तटबन्धन निर्माणकार्य सुरु भएको हो ।
गाईघाटस्थित शिवालय टोलबाट मदन भण्डारी मार्गको बरूवा खोलाको पुलसम्म झण्डै डेढ किलोमिटर लामो तटबन्धन निर्माण औपचारिक रूपमा सुरु भएको छ ।
सङ्घीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक करोड बजेट व्यवस्थापन गरेपछि ६० मिटर लम्बाइको पक्की तटबन्धन निर्माण गरिन लागेको त्रियुगा नगरपालिकाका प्रमुख बस्नेतले जानकारी दिए।
एक करोडसम्मको बजेट योजना उपभोक्ता समिति गठन गरेर सञ्चालन गर्न सकिने हुनाले तटबन्धन निर्माणकार्य स्थानीयको अगुवाइमा उपभोक्ता समिति गठन गरेर सुरू भएको हो ।
यसपटकको बजेटले ६० मिटर तारजाली ढुङ्गासहितको तटबन्धन निर्माण हुने र स्थायी कलभर्ट निर्माण गर्न लागिएको त्रियुगाले जनाएको छ ।
शिवालय, साकेलासहित सङ्गम टोल बर्सेनि बरूवा नदी कटानको उच्च जोखिममा परेपछि तटबन्धन निर्माण सुरू गरिएको हो ।
यसबाट गाईघाट क्षेत्रका आठवटा टोलका झण्डै १० हजार बासिन्दा कटानको जोखिमबाट सुरक्षित हुने छन् ।
वि. सं २०२९ मा पहिलोपटक बरूवा नदीले कटान गर्दा त्यस क्षेत्रका ६० घर विस्थापित भएका थिए भने गाईघाट बजार सहितका सय घरपरिवार विस्थापित भएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
यस्तै, २०३७ सालको कटानले ४० घर विस्थापित भएका थिए भने २०५७ सालको कटानले १० घर विस्थापित भएका थिए । त्यसपछिका दिनमा अस्थायी तटबन्धन निर्माण गरेर तत्कालका लागि कटान रोक्ने काम हुँदै आएको त्रियुगा नगरपालिकाले जनाएको छ ।