
सङ्घीय संसद्का विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् ।
हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।
त्यसअघि विपक्षी दलको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।
बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी छ।
पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्यीय कार्यदल बनाएको थियो ।
बुधबार बसेको विपक्षी दलको बैठकले साझा धारणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोके पनि काम पुरा नभएको भन्दै पत्रकार सम्मेलन आजका लागि सरेको हो ।
बुधवार बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने बताएको थियो ।