
यो साता पनि सेयर बजार परिसूचक नेप्से खासै उत्साहप्रद देखिएन ।
एकदिन सार्वजनिक बिदा परेका कारण सातामा चार कार्य दिन मात्र खुला रहेको नेप्से तीन कार्य दिन लगातार ओरालो लागेको थियो । चौथो कार्य दिन झिनो अंकले उकालो लागेको नेप्सेले कारोबार रकम खासै बढाउने सकेन । जसले गर्दा यो साता नेप्से सूचकसँगै कारोबार रकम पनि खासै उत्साहप्रद देखिएन ।
नेप्से परिसूचक २५ सय ८८ दशमलव ६२ विन्दुमा खुम्चिँदा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ३६ दशमलव ६२ विन्दुमा खुम्चियो ।
यो साता तीन सय २२ कम्पनीको दुई लाख ४४ हजार नौ सयपटक मात्र सेयर किनबेच भएको छ । जसबाट चार करोड ४३ लाख ८७ हजार तीन सय ३८ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम २२ अर्ब ४० करोड ७४ लाख आठ हजार दुई सय ३६ रुपैयाँ कायम भएको छ ।
यो कारोबार रकम गत साताको तुलनामा आठ अर्ब रुपैयाँले कम हो । गत साता यस्तो कारोबार रकम ३० अर्ब २६ करोड ३६ लाख ४१ हजार चार सय ९० रुपैयाँ पुगेको थियो । ३२७ कम्पनीको तीन लाख ४८ हजार सात सय ६२ पटकको कारोबारमा ६ करोड ८१ लाख ५५ हजार सात सय २१ कित्ता सेयर खरिद-बिक्री हुँदा गत साता उक्त परिमाणको रकम कारोबार भएको थियो ।
यो साता नियमित कारोबारका लागि नेप्से चार कार्य दिन मात्र खुला थियो । त्यसमध्ये पहिलो, दोस्रो र पाँचौं दिन ओरालो लागेको नेप्से परिसूचक चौथो कारोबार दिन भने झिनो अंकले उकालो लागेको थियो । तेस्रो कारोबार दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द थियो ।
यो साता पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५ दशमलव ४१ अंकले घटेर २६ सय नौ दशमलव ६७ विन्दुमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५५ अंकले ओरालो लागेर चार सय ४३ दशमलव ९९ विन्दुमा खुम्चिएको थियो ।
दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक १५ दशमलव ५४ अंकले ओरालो लागेर २५ सय ९४ दशमलव १३ विन्दुमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले ओरालो लागेर चार सय ४१ दशमलव ४२ विन्दुमा खुम्चिएको थियो ।
चौथो कारोबार दिन भने नेप्से परिसूचक एक दशमलव ८३ अंकले उकालो लागेर २५ सय ९५ दशमलव ९६ चढेकामा सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ४१ अंकले ओरालो लागेर चार सय ३९ दशमलव शून्य एक विन्दुमा खुम्चिएको थियो ।
पाँचौं दिन पनि नेप्से परिसूचक सात दशमलव ३३ अंकले ओरालो लागेर २५ सय ८८ दशमलव ६२ विन्दुमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३९ अंकले ओरालो लागेर चार सय ३६ दशमलव ६२ विन्दुमा खुम्चिएको थियो ।
यो साता नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सिन्धु विकास बैंक, जानकी फाइनान्स आदिको बढी रकम कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सिन्धु विकास बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको छ ।
बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि पर्न सफल भएका छन् ।