काठमाडौं, माघ ५ :

नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालि र ईटीएसआईपीएलको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी सुरु भएको हो ।

१०औं संस्करणको नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले मेलामा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको अन्तर्राष्ट्रिय प्रदर्शनी भएकाले नेपालभरबाट अवलोकनकर्ता आउने अपेक्षा गरिएको जनाए ।

उनले प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डहरुका १०० भन्दा बढी स्टल रहेको जानकारी दिए । फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता भएको उनको भनाइ छ । भट्टराईले प्रदर्शनीमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिबारे जानकारी दिने व्यवस्था गरिएको बताए ।

प्रदर्शनीमा जानकारीमूलक सेमिनारहरू, अन्तर्क्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रस्तुतीकरणहरू हुने बताए । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने लक्ष्य लिएको उनको भनाइ छ ।

हेरौं थप तस्बिर :