
६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नले सुशोभन गरे ।
गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा दुई र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा चार गरी जम्मा ६ जना प्राविधिक प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेमा प्राविधिक प्रहरी उपरीक्षकहरू प्रभा पौडेल र भुलाराज खनाल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. सुष्मा केसी, डा. पूजा खड्का, डा. दीपक भिन्दवार र डा. अनुज श्रेष्ठ छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । पदोन्नति प्रत्येक प्रहरी कर्मचारीको व्यक्तिगत र व्यावसायिक जीवनको महत्त्वपूर्ण पक्षका रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादन हुने कार्यको गुणस्तरमा समेत बढोत्तरी हुने अपेक्षा लिएको बताए ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक प्रभा पौडेलले संगठनप्रति निष्ठावान् रही आ-आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिबद्धता जनाइन् । दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।