
सङ्गठित रुपमा सहकारी ठगी गर्ने समूहका मुख्य आरोपित जीबी भन्ने (गितेन्द्रबाबु राई) को राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीमा न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जीबीको राहदानी रोक्का गर्न राहदानी विभागलाई लेखि पठाउन आदेश दिएको हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट गर्न नमिल्ने भनेको थियो । उनको राहदानी रद्द गर्न माग गर्दै गत पुस २८ गते अदालतमा निवेदन दर्ता भएको थियो। सहकारी प्रकरणको विषय उठ्ने वित्तिकै उनी विदेश फरार छन् ।
कास्कीको सूर्यदर्शनसहित दर्जनभन्दा बढी सहकारी खोली बचत र सेयर रकम अपचलन गरेको अभियोगमा राईविरुद्ध मुद्दा सम्बन्धित सहकारी रहेको जिल्लामा मुद्दा दायर भएको छ ।
देशका पाँच सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड गैर कानुनी रुपमा लगी ठगी गरेको अभियोग उनीमाथि छ । सोही अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ६३ जनाविरुद्ध कास्की, काठमाडौंमा दायर भएको मुद्दा विचाराधीन छ ।
सहकारी ठगीका मुख्य अभियुक्त राई विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सकिएको छैन । यद्यपि वर्तमान सरकारले पनि उनलाई पक्राउ गर्ने प्रयास भइरहेको जनाएको छ । लामो समयदेखि उनी सरकारलाई छल्दै लुकेर बसेका छन् ।