
काठमाडाैं, माघ ५ :
वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई आज (शुक्रबार) पक्राउ गरेको हाे ।
निजलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौँका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा त्रिपाठीमाथि कुटपिट भएको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीलाई तत्काल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।