
इजरायली सरकारले गाजामा नयाँ युद्धविराम र हमाससँगको बन्धक मुक्त गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।
राति अबेरसम्म चलेको घन्टौंको छलफलपछि यो निर्णय आएको हो । दुई अति दक्षिणपन्थी मन्त्रीहरूले सम्झौताको विपक्षमा मतदान गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयका अनुसार सुरक्षा क्याबिनेटले युद्धको उद्देश्य प्राप्तिमा समर्थन गर्ने भन्दै सम्झौतालाई अनुमोदन गर्न सिफारिस गरेको थियो ।
कतार,अमेरिका र इजिप्टका मध्यस्थकर्ताले घोषणा गरेको दुई दिनपछि ईजरायली प्रधानमन्त्री कार्यालय र हमास दुवैले सम्झौताको विस्तृत विवरणलाई अन्तिम रूप दिएको बताएको केही घण्टापछि ईजरायलले अनुमोदन गरेको हो ।
सम्झौताअनुसार गाजामा हमासले बन्धक बनाएका ३३ जना इजरायली कैदी र इजरायली जेलमा रहेका सयौं प्यालेस्टाइनी कैदी साटासाट गर्ने कार्य पहिलो चरणमा गरिनेछ ।
इजरायली सेना पनि गाजाको घना बस्ती भएका क्षेत्रहरूबाट हट्ने र विस्थापित प्यालेस्टिनीहरूलाई उनीहरूको घर फर्कन अनुमति दिइनेछ । साथै प्रत्येक दिन सयौं सहायता लरीहरूलाई यस क्षेत्रमा प्रवेश गर्न अनुमति दिइने पनि सम्झौतामा उल्लेख छ।
दोस्रो चरणमा बाँकी बन्धकहरूलाई रिहा गर्ने,इजरायली सेना पूर्ण फिर्ता हुने र दिगो शान्तिको पुनस्थापना १६ औं दिनमा सुरु हुनेछ।
तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण रहेको छ । जुन कार्य वर्षौं लाग्न सक्ने बताईएको छ । कुनै पनि बाँकी बन्धकहरूको शव फिर्ता गरिने उल्लेख छ ।
कतारले पहिलो चरणमा रिहा गरिने बन्धकहरुमा महिला,महिला सैनिक,बालबालिका,वृद्धवृद्धा र बिरामी तथा घाइते नागरिकहरु रहेको जनाएको छ ।
इजरायलले युद्धविरामको पहिलो दिन तीन जना बन्धकलाई रिहा गरिने र आगामी छ हप्तामा थप साना समूहलाई मुक्त गरिने बताएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा भएको सीमापार आक्रमणमा करिब एक हजार २ सय जनाको मृत्यु हुनुका साथै २५१ जनालाई बन्धक बनाइएको प्रतिक्रिया स्वरूप इजरायली सेनाले हमासलाई नष्ट गर्ने अभियान चलाएको थियो ।
त्यसयता गाजामा ४६ हजार ८सय ७० जना भन्दा बढीको ज्यान गइसकेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २.३ मिलियन जनसंख्या मध्ये अधिकांश विस्थापित भएका छन्,व्यापक विनाश भएको छ र खाद्यान्न,ईन्धन,औषधि र आवासको गम्भीर अभाव छ।
इजरायलका अनुसार बन्धक बनाइएकामध्ये ९४ जना अझै पनि हमासले कब्जामा राखेको छ ।