दाङ, माघ ७ :

लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज (आइतबार) बस्दैछ । 
बैठक दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि प्रदेशसभाको दोस्रो बैठक पुस १७ गते बसेको थियो । दोस्रो बैठकले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सन्देशसहित फिर्ता पठाएको प्रदेश निजामती कर्मचारीसम्बन्धी प्रदेश निजामती सेवा ऐन,- २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित गरेको थियो ।

पारित दुवै विधेयक सभामुख तुलाराम घर्तीले प्रमाणित गरेर पुनः पुस १९ गते नै प्रदेश प्रमुखसमक्ष पठाएका थिए । प्रदेश प्रमुख घर्तीले पुस २७ र २८ गते प्रमाणिकरण गरेपछि प्रदेशसभाको तेस्रो बैठक बस्न थालेको हो ।

प्रदेशसभाको आजको तेस्रो बैठकमा प्रदेश सरकारको पुस ६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भई कार्यन्वयनमा रहेको लैङ्गिक समानता नीति- २०८१ को बारेमा जानकारी दिने र दोस्रो बैठकमा छलफलका लागि पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको रहेको छ ।