काठमाडौं, माघ ७ :

आजबाट हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता लागु हुदैछ । शनिबार बिहान इजरायलले युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि दुई देशबीचको युद्धविराम सम्झौता कार्यान्वयनमा आएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको दोस्रो चरणको युद्धविराम असफल भएमा आफ्नो देश हमासविरुद्धको युद्ध पुनः सुरु गर्न तयार रहेको बताएका छन् ।

नेतान्याहूले आजदेखि शुरु हुने भनिएको युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा पुनः आक्रमण गर्ने अधिकार सुरक्षित राखेको बताएका छन् । उहाँले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन रहेको बताएका छन्।

नेतन्याहूले हमास नेता याह्या सिनवारको हत्यासहित विगत १५ महिनामा इजरायलको सैन्य अभियानको सफलतालाई पनि उल्लेख गरेका छन् । हमास अहिले पूर्णरुपमा एक्लो भएको बताएका छन्।यो युद्धविराम स्थानीय समयअनुसार बिहान साढे ८ बजे देखि लागू हुनेछ ।

यसअघि नेतन्याहूले इजरायलले हमासले रिहा गर्ने बन्धकको सूची प्राप्त नभएसम्म सम्झौता कार्यान्वयन नगर्ने बताएका थिए ।

यसैबीच इजरायलले गाजामा हमास र इस्लामिक जिहादस्थलमा हवाई आक्रमण जारी राखेको छ । बुधबार सम्झौताको घोषणा भएदेखि अहिलेसम्म १२० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासका अधिकारीहरूले बताएका छन्।

आगामी केही हप्तामा १ हजार ८ सय ९० जना प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई रिहा गरिने भएको छ । सम्झौताअनुसार इजरायलले पनि गाजाबाट आफ्ना सेना फिर्ता बोलाउन थाल्नेछ ।

पहिलो बन्धकलाई कुन स्थानमा सुम्पिने भन्ने स्पष्ट भइसकेको छैन । इजरायली सेनाका एक वरिष्ठ अधिकारीका अनुसार उत्तरी,मध्य र दक्षिणी गाजाको सीमा नजिक तीन वटा रिसेप्सन प्वाइन्ट तयार पारिएको छ ।

रिहा हुने पहिलो तीन जना महिला हुनेछन् ।