मोरङ, माघ ७ :

सुन्दरहरैँचा नगरपालिका- ८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भयो । 

जिल्ला प्रहरी कार्यालययका अनुसार गत बिहीबार राति  घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो । 

माउ हात्ती छावा (बच्चा) सहित आएको गाउँमा आएको थियो  । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गरेका छन् । “हामी जङ्गल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोल बत्तीको काम गरिरहेका छौँ”, उनले भने, “नागरिकको जीउ धनको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, काम पूरा गर्न समय लाग्छ ।”

नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको र स्थानीयवासीलाई रातभर त्रास दिएको यहाँका वडाध्यक्ष  खेम न्यौपानेले बताए । उनले हात्तीको त्रासका कारण स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपरेको उल्लेख गरे ।

विगत तीन साताअघि सुन्दरहरैँचा- ५ गुरुङ टोलका  ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको वनमा दाउरा काटेर घर फर्कँदा जङ्गली हात्तीको आक्रमणबाट निधन भयो । साथै एक महिनाअघि सुन्दरहरैँचा- ७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । पालिकामा जङ्गली हात्तीको आक्रमणबाट पटक पटक मानवीय क्षति हुने गरेको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी लगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गरेको मोरङ डिभिजन वन कार्यालयले जनाएको छ । 

जङ्गली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरी लगायत जिल्लामा उपद्रो मच्चाइरहेको प्रहरीले जनाएको छ । सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ ।

पछिल्लो समय मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा दैनिकजसो हात्तीको हुल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको छ ।

यसबीच मोरङमा एक वर्षमा दुई जङ्गली हात्ती मृत फेलापरेका छन् । एउटा जङ्गली हात्तीलाई केहि वर्ष अघि गोली हानेर हत्या गरिएको थियो । जङ्गली हात्तीका कारण एक महिनामा सुन्दरहरैँचामा तीन जनाको ज्यान गइसकेको छ ।