काठमाडौँ, माघ ७ :

नेपाली कांग्रेसले पार्टीका कोसी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणको निन्दा गरेको छ । 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काई नगरपालिकाको सुरुंगानजिक उनीमाथि आक्रमण भएको भन्दै संलग्नलाई कारबाहीको माग गरिएको छ ।  

कांग्रेसले थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारसँग घटनाको यथार्थ छानबिन गरेर त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग गरेको छ । 

हातपातमा संलग्न विद्युत् प्राधिकरणको सुरुंगा शाखामा कार्यरत हेल्पर र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।