
झापामा भूमिगत जलसिँचाइ आयोजनाबाट भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्र बढेको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको हो । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको छ।
आयोजनाका सूचना अधिकारी ईश्वर थापाले गत आर्थिक वर्षका लागि विनियोजित १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको बताउनुभयो। गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको हो ।
गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिप ट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।
आयोजनाले आगामी पाँच वर्षमा सात हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ ।