
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले रिहा गर्ने योजना बनाएका पहिलो बन्धकको नाम उपलब्ध नगराएसम्म गाजा युद्धविराम अघि नबढ्ने बताएका छन् ।
हमासले भने प्राविधिक कारणले गर्दा ढिलाइ भएको विज्ञप्ति मार्फत जनाएको छ ।
युद्धविराम सम्झौता अनुसार योजनाबद्ध आदान-प्रदान भन्दा कम्तिमा २४ घण्टा पहिले नामहरू प्रदान गरिनुपर्ने हमासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युद्धविराम स्थानीय समय अनुसार आज बिहान साढे ८ बजे लागू हुने भनिएको थियो ।
जबसम्म हमासले नाम सार्वजनिक गर्दैन युद्धविराम औपचारिक रूपमा सुरु नहुने इजरायलले जनाएको छ । साथै इजरायली सेनाले गाँजामा आफ्नो अभियान जारी राख्ने समेत बताएको छ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणमा करिब १२ सय व्यक्तिको ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यस आक्रमणका कारण गाजामा इजरायलले गरेको आक्रमणमा ४६ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।