कास्की, माघ ७ :

पोखरामा आजदेखि प्रथम दाइँ महोत्सव सुरु भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित सुरु भएको महोत्सवबाट ‘अफ सिजन’ मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिका- २३ स्थित मार्गी फाँटमा आयोजित महोत्सवमा धानको परालमाथि गोरु घुमाएर दाइँ गरिदै छ । आजभोली आधुनिक प्रविधिको प्रयोग मार्फत धान झार्ने गरिएपनि पहिला पहिला खलो बनाएर त्यसको बिचमा ढुङ्गा राखेर धान झार्ने गरिन्थ्यो । 

मानिसले त्यसरी झारेको धान सबै नझर्ने भएकाले परालमाथि गोरु घुमाएर बाँकी रहेका धानका दाना झर्ने भएकाले यसलाई दाइँ भनिदै आएको हो ।

परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।