काठमाडौं, माघ ७ :

प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक शम्भु आचार्य तथा सदस्यहरु डा. रघुराज काफ्ले, डा. भगवान कोइराला तथा सदस्य-सचिव सरोज शर्मासँग प्रतिवेदनको प्राप्तिबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले कार्ययोजनाका साथ आउन आग्रह गरे ।

एक साताभित्र कार्ययोजना लिएर आउनुहोला,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले प्रतिवेदन कार्यान्वयनमा आफ्नो साथ रहने बताए । भेटमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । ‘प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘हामी कार्ययोजनासहित पुनः प्रस्तुत हुनेछौं ।’

मन्त्री पौडेलले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने र सरकारले मुख्य सुझाव पनि कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाउने बताए ।

एक साताभित्र स्वास्थ्य बिमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य बिमामा नागरिक पहुँच अभिवृद्धि गर्न र सेवा स्तरीय दिन सुझाव दिन भन्दै विश्व स्वास्थ्य संगठनका पूर्व उच्च अधिकारी डा. आचार्यको नेतृत्वमा मन्त्री पौडेलले सुझाव कार्यदल गठन गरेका थिए । प्रतिवेदनमा उठाइएका विषयको कार्यान्वयन ढाँचाबारे अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरिरहेको छ ।

मन्त्री पौडेलले नीतिगत सुधार, सेवाको गुणस्तर सुधार तथा स्रोतको वृद्धिमा जोड दिँदै आएका छन् । स्रोत पर्याप्त नहुँदा तथा विगतको भुक्तानी ढिलाइ हुँदा स्वास्थ्य बिमा बोर्डले अस्पतालहरुको बक्यौता रकम भुक्तानी गर्न कठिनाइ भोग्दै आइरहेको छ ।

स्रोत वृद्धि तथा सरकारी निकायबाट छरिएको स्वास्थ्य उपचार राहतसम्बन्धी सेवा तथा बिमा कार्यक्रम एकीकृत गर्न सकिए आफूले घोषणा गरेको पाँच लाख बिमा सम्भव हुने मन्त्री पौडेलले बताउँदै आएका छन् ।