काठमाडौं, माघ ७ :

इजरायल र हमासबीच गाजामा युद्धविराम सम्झौता लागु भएपछि हजारौं आन्तरिक रूपमा विस्थापित गाजावासी आफ्नो घर फर्किरहेका छन् ।

गाजाबाट आएका तस्बिरहरूमा मानिसहरू आफ्ना सामान बोकेर लामो लाइनमा हिँडिरहेको देखिन्छ ।

एउटा तस्बिरमा धेरै कारहरूको लस्कर देखाइएको छ जसमा मानिसहरूले प्यालेस्टिनी झन्डा बोकेका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि गाजामा ४६ हजार ७८८ जनाको मृत्यु भइसकेको छ ।

युद्धविराम घोषणा गरिएको विगत चौबीस घण्टामा ८१ जनाको मृत्यु भएको छ ।

इजरायल र हमासबीच युद्धविराम गराउन कतार, इजिप्ट र अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

राहत सामग्रीले भरिएका ट्रकहरू रफाह सीमा नाकानजिकै गाजा प्रवेश गर्न पर्खिरहेका छन् । संयुक्त राष्ट्रसंघले खाद्यान्न र पीठोले भरिएका सयौं सवारीसाधन सीमामा रहेको जनाएको छ ।
-बीबीसी