
प्रयागराजको कुम्भ क्षेत्रमा आइतबार आगलागी भएको छ ।
प्रयागराज जिल्ला मजिस्ट्रेट (डीएम) रवीन्द्र कुमारका अनुसार सेक्टर १९ स्थित गीता प्रेसको पालमा दिउँसो साढे ४ बजे आगलागी भएको थियो ।
आगलागीको कारणबारे स्पष्ट जानकारी छैन तर आगो नियन्त्रणमा ल्याइएको सूचना प्राप्त भएको डीएम रवीन्द्र कुमारले बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।
उनका अनुसार घटनामा कुनै पनि मानवीय क्षति भएको छैन ।
मुख्यमन्त्री कार्यालयले भन्यो, ‘मुख्यमन्त्रीले घटनाको बारेमा जानकारी लिनुभएको छ । उहाँको निर्देशनमा वरिष्ठ अधिकारीहरू घटनास्थलमा उपस्थित छन् ।’
घटनाबारे थप जानकारी दिँदै प्रयागराज क्षेत्रका प्रहरी सहायक महानिर्देशक (एडीजी) भानु भास्करले भने, ‘दुई/तीन सिलिन्डर विस्फोट भएको जानकारी आएको थियो, त्यही जानकारीका आधारमा दमकल सेवाका कर्मचारीहरू तुरुन्तै पुगे। त्यतिन्जेलसम्म केही झुपडीहरूमा आगो लागेको थियो । अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन ।’
यस विषयमा उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पनि प्रतिक्रिया दिएका छन् । उनले बीबीसीसँग भनेका छन्, ‘प्रयागराजमा आयोजना गरिएको कुम्भ-२०२५ को सेक्टर १९ (तुलसी मार्ग) मा भएको आगलागीको घटनाको सम्बन्धमा, उत्तर प्रदेश सरकार र स्वास्थ्य विभागका अधिकारीहरूको टोली घटनास्थलमा उपस्थित छ । सन्तहरूलाई सम्भव भएजति सबै सहयोग प्रदान गरिरहेको छ । त्यहाँ आएका भक्तजनहरूको उपचार पनि भइरहेको छ ।’
उनले स्थिति नियन्त्रणमा रहेको जनाएका छन् । ‘सरकारले पनि नजिकबाट हेरिरहेको छ । स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ ।’
