
म्याग्दी, साउन ३० :
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगमा रहेको राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो ।
बेनी-जोमसोम-सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्ग गिरीले जानकारी दिनुभयो ।
मन्दिर पुनःनिर्माणका लागि २४ लाख ७० हजार सात सय रुपैयाँ लागेको उहाँले बताउनुभयो ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्रसमेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताउनुभयो ।