
मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहबी नगरपालिका ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
पछिल्लो केही दिनदेखि तराईमा चलेको शीतलहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सांसद भगवती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि नीराजन बुढाथोकीले न्यानो कपडा वितरण गरिन् ।
कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ३ की सांसद भगवती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक व्यावसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाइ छ ।
सांसद चौधरीले महिला सशक्तीकरणसँगै आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न परिवारको आर्थिक उन्नतिको निम्ति विभिन्न कार्यक्रम लिएर बस्ती-बस्तीमा गइरहेकी छन् । गत वर्ष पनि यसै समयमा चौधरीले पुस माघको कठ्याङ्ग्रिँदो जाडोबाट एक हजार गरिब, विपन्न नागरिकलाई बचाउन न्यानो कपडा वितरण गरेकी थिइन् ।