चितवन, माघ ८ :

चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् ।

गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसगैँ  धार्मिक पर्यटकरुको आवागमन बढेको हो । 

मन्दिरका पूजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ । 

मन्दिर पुनःनिर्माणलगायत विभिन्न आवश्यक संरचना बनेको र पछिल्लो केही वर्षयता प्रचारप्रसार बढेकाले पनि दर्शनार्थीको आवागमन बढेकाृ उनको भनाई छ ।
 
यहाँ सुन्दर दृष्य अवलकोन गर्न र पिकनिक मनाउन पनि पर्यटक पुग्ने गरेका छन् ।  उनका अनुसार समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा रहेको ईच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ ।

इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे देख्न सकिन्छ । 

मनकामनाका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंबदन्ती छ । ईच्छाकामनाको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको छ ।