चितवन, माघ ८ :

चितवनमा प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरेका छन् । चेकिङमा खटिएका प्रहरीले युवकलाई लडाएर लात्तैलात्ताले हानेका छन् । बसेनी अस्थायी प्रहरी बिटका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेलले ती व्यक्तिमाथि कुटपिट गरेका हुन् ।

प्रहरीले कुटपिट गरेको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रहरी आचरणविपरीत कुटपिट गरेको खुलेपछि भुजेललाई  निलम्बनको प्रक्रिया थालिएको छ। घटनाबारे अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही गर्ने चितवनका एसपी गौतम मिश्रले बताए । प्रहरीले यो भिडियो  पुस १५ गतेको भएको जनाएको छ ।