काठमाडौं, माघ ८ :

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घरोगका औषधिसम्बन्धी लगत संकलन थालेको छ । 

उनीहरुलाई औषधिको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत संकलन गरिरहेको हो । विवरण प्राप्त भएपछि उनीहरुको स्वास्थ्य प्रवर्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुने विभागका प्रमुख दीपक केसीले जानकारी दिए । 

विभागले महानगरपालिकाकै पञ्जीकरण शाखाबाट २०८१ साउन १ गतेसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार ७७० ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ । मेडिकल अधिकृत डा. दिवस न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगलफर्ममा विवरण मागिएको छ । अहिलेसम्म १ हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ । उनीहरुमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् ।  

अहिले विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ३७ हजार ६५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको संख्या २३ हजार ७७० जना छ । धेरै उमेर हुनेमा ११० वर्ष उमेरसम्मका व्यक्ति छन् । १ सय वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ४७ जना छ । 

९० वर्षदेखि ९९ वर्षसम्मका ८६४ जना, ८० वर्षदेखि ८९ वर्षसम्मका ५ हजार ४८३ जना र ७० वर्षदेखि ७९ वर्षसम्मका १७ हजार ३७४ जना ज्येष्ठ नागरिक रहेको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको स्थायी बासिन्दा भए र महानगरपालिकाभित्रै बसोबास गरिरहे ७० वर्ष पूरा भएका नागरिकको विवरण अनलाइनबाट भर्न सकिने पनि महानगरले जनाएको छ । महानगरका अनुसार आफू बसोबास गरिरहेको नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर पनि विवरण टिपाउन सकिनेछ ।