
तनहुँको भानुभक्त प्राणी उद्यानका जग्गाधनीले मुआब्जाको माग गरेका छन् । भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिमा आवद्ध उनीहरुले अविलम्ब मुआब्जा वितरण गर्नुपर्ने माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना समेत दिएका छन् ।
यसअघि उनीहरूले गत साताको मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई अविलम्ब मुआब्जा वितरण गर्न माग गरेका थिए । आफ्ना माग पूरा नभएको जनाउँदै जग्गाधनीले भानुभक्त प्राणी उद्यानको मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् ।
सरकारको २०७३ माघ २० गतेको मन्त्रिपरिषद्को बैठकले व्यास नगरपालिका - ११ र १२ तथा भानु नगरपालिका - ५ र ६ को क्षेत्रलाई समेटिएर ८ वटा सामुदायिक वन, पाँचवटा कबुलियती वन, सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनको आंशिक क्षेत्र तथा खोलानाला र सो क्षेत्रभित्रका एक हजार नौ सय ४६ स्थानीय निजी घरजग्गालाई समेटी कुल चार सय २५ हेक्टर जग्गामा भानुभक्त प्राणी उद्यान खोल्ने भनी २०७४ वैशाख १८ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।
उक्त उद्यान सञ्चालन गर्ने निर्णयपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मूल्य निर्धारण भएको चार वर्ष पुगिसक्दा समेत मुआब्जा नपाएको समन्वय समितिका संयोजक हर्कबहादुर कार्कीले बताउनुभयो ।