
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन्।
सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले आज (सोमबार) गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको बताए । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडदिने प्रतिबद्धता व्यक्त गरे ।
कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष भएको बताए । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताए ।
राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उनले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताए ।