काठमाडौं, माघ ८ :

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको दाबी गरेका छन् । 

कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आज(सोमवार) काठमाडौंमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परेपनि राष्ट्र बैंक वाह्य क्षेत्रमा सबल रहेको बताए। 

उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको उल्लेख गरे । उनले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताए । 

गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्र समग्र रुपमा अर्थतन्त्रका फण्डामेण्ट्ल्सहरु अत्यन्तै राम्रा छन् । हामी वाह्य क्षेत्रमा सबल छौँ ।  एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ ।

 यसको बाबजुद बैंकका साथीहरु आफ्नो ठाउँमा ग्रासरुटमा खट्नुभएको छ ।’गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताए ।