काठमाण्डौं, माघ ८ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।  परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिसँग आज फोनवार्ता गर्नुहुदै सो आग्रह गर्नुभएको हो ।

इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ  ।

आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहनुभएकी मन्त्री डा राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गर्नुभएको हो ।

फोनवार्ताका क्रममा मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद समेत दिनुभएको छ । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपीनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताउनुभएको थियो ।

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपीन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।

केही दिनमात्र अघि मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरी सोही आग्रह गर्नुभएको थियो । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।  

त्यसैगरी मन्त्री डा राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरुले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरुको पहिलो चरणमै विपीन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गर्नुभएको थियो ।  

विपीनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा राणाले संयुक्त राष्ट्रसङ्घ,अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकहरु मार्फत विपीनको रिहाइका लागि आग्रह गर्दै आउनुभएको छ ।