काठमाण्डौं, माघ ८ :

अमेरिकामा टिकटक फेरि फर्किएको छ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेसंगै टिकटकमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्न कार्यकारी आदेश जारी गर्ने आफ्नो सामाजिक सञ्जाल साइटमा बताएका छन् ।

यो संगै टिकटकले अमेरिकामा आफ्ना १७ करोड प्रयोगकर्ताका लागि सेवा पुनः सुरु गर्ने भएको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाउने कानुन लागू भएपछि शनिबार साँझ चिनियाँ स्वामित्वको एपले अमेरिकी प्रयोगकर्ताका लागि काम गर्न बन्द गरेको थियो ।

आफ्नो पहिलो कार्यकालमा टिकटकमाथिको प्रतिबन्धको समर्थन गरेका ट्रम्पले आइतबार कानुन कार्यान्वयनमा ढिलाइ गर्ने र सम्झौताका लागि थप समय दिने वाचा गरेका छन् । त्यसपछि टिकटकले सेवा पुनर्स्थापना गर्ने प्रक्रियामा रहेको बताएको थियो ।

त्यसको केही समयपछि एपले फेरि काम गर्न थाल्यो र यसका लाखौं प्रयोगकर्तालाई पपअप सन्देश पठाएर ट्रम्पलाई धन्यवाद दिएको थियो ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै आवश्यक स्पष्टता र आश्वासन प्रदान गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिँदै टिकटकलाई अमेरिकामा राख्ने दीर्घकालीन समाधानका लागि ट्रम्पसँग मिलेर काम गर्ने बताएको छ ।