
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् ।
नवज्योति मावि गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । आफूले सरकारको नेतृत्व गरेका बेला असाध्यै मिहिनेत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उनले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने दाबी गरे ।
संविधानमा शिक्षालाई मौलिक हकका रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेट अभाव रहेको उल्लेख गर्दै उनले राज्यका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने उनको भनाइ छ ।
आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उनले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायत केही पूर्वाधार विकासको क्षेत्रमा महत्त्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको दाबी गरे । उनले आफू दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए ।
तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब यो अभियान निरन्तर अघि बढ्ने बताए । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारबाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उनले
राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको दाबी गरे ।
गोरखा क्याम्पसको निरीक्षण
यसैबीच दाहालले गोरखा ५ मा रहेको गोरखा क्याम्पसको निरीक्षण गरे । निरीक्षणका क्रममा विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा दाहालले जोड दिए । उनले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।